Cine Nagari – राष्ट्रपति कार्यालय अगाडी तरुणदलले गर्यो विरोध प्रदर्शन, निर्णय फिर्ता गर्न माग
LATEST UPDATE

राष्ट्रपति कार्यालय अगाडी तरुणदलले गर्यो विरोध प्रदर्शन, निर्णय फिर्ता गर्न माग

सिनेनगरी डटकम :
नेपाली कांग्रेसको भातृ युवा संगठन नेपाल तरुणदल राष्ट्रपति विरुद्ध सडकमा उत्रिएको छ । नेपाल तरुण दलले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा मनोनितका लागि सिफारिस गरेका नामहरु फिर्ता गरेको विरोधमा राष्ट्रपति भण्डारीविरुद्ध सडकमा उत्रेर नारावाजी गरेको हो । राष्ट्रपति भण्डारीको पछिल्लो निर्णय फिर्ता हुनुपर्ने माग राख्दै बुधबार दिउँसो राष्ट्रपति भवन अगाडि तरुण दलले नाराबाजी गरेको हो । विरोध प्रदर्शन सभामा धेरैको संख्यामा तरुणदल कार्यकर्ता र नेताहरुको उपस्थिति रहेको थियो । विरोध प्रदर्शन भिड थामिनसक्नु रहेको थियो ।



राष्ट्रपति विद्यादेवी भण्डारी सरकारले सिफारिस गरे अनुसार तीन जनालाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने संवैधानिक प्रावधान विपरित कदम चालेकाले विरोध स्वरुप प्रदर्शन गरिएको नेपाल तरुणदल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले बताउनुभएको छ । यस्तै तरुण दलले बुधबार नै संविधानको प्रति पनि राष्ट्रपति कार्यालयमा बुझाएको छ । राष्ट्रपति कार्यालयका उपसचिव प्रल्हाद पुडासैनी मार्फत राष्ट्रपति भण्डारीलाई संविधान बुझाइएको नेपाल तरुणदल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले जानकारी दिनु भएको छ ।




देउवा नेतृत्वको सरकारले निर्वाचन प्रक्रियालाई पूर्णता दिने क्रममा राष्ट्रिय सभाका लागि तीन जनाको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको र त्यसलाई कार्यान्वयन नगरी नयाँ नाम सिफारिस गर्नु संविधान विरुद्धको कदम भएको ठहर गरेको तरुणदलका नेताहरुले बताएका छन । संविधानको धारा ८६ २ (क) मा प्रत्येक प्रदेशबाट आठ जनाका दरले राष्ट्रियसभामा ५६ जना निर्वाचित हुने ब्यवस्था छ ।
त्यस्तै सोही उपधाराको २ (ख) मा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तिमा एक जना महिलासहित तीनजना मनोनीत गर्ने व्यवस्था भएको भन्दै संविधानको एउटै धारा अन्तरगतका व्यवस्थालाई राष्ट्रपतिले दोहोरो मापदण्ड लागु गर्न उचित नहुन नेपाली कांग्रेसले यसअघिनै बताइसकेको छ ।




राष्ट्रपतिको विरोधमा गरिएको बिरोध प्रदर्शनपछि आयोजित कोण सभामा बोल्दै नेपाल तरुणदल केन्द्रीय अध्यक्ष जित जंग बस्नेत र महासचिव भुपेन्द्र जंग शाहीले राष्ट्रपतिले आफ्नो कदम नसच्याए सडक संघर्ष थप चर्काउँदै लैजाने चेतावनी समेत दिनुभएको छ । यस्तै तरुणदल केन्द्रीय समितिले हिजो नै एक परिपत्र जारी गर्दै सबै जिल्लाका तरुणदल जिल्ला समितिलाई राष्ट्रपतिको यो असंबैधानिक कदम प्रति सबै जिल्लामा विरोधका बिभिन्न कार्यक्रम सुरु गर्न र फाल्गुन १० गते आज प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपतिलाई विरोध पत्र बुझाउन निर्देशन समेत दिइसकेको छ ।


Facebook Comment